२०७९ माघ २४, मंगलबार

“अन्तराष्ट्रिय पानी दिवस, पानी पुर्याउनै सकस”

चैत्र ०८, २०७५  | ११७६ पटक पढिएको

– खेमराज रिजाल
८ चैत्र, मुलकोट (तुलसीपुर) / ‘हे भगवान, हाम्रो मुल कहिल्यै नसुकोस्’, तुलसीपुरको पुरानो खानेपानी मुहान मुलकोटमा शुक्रवार फुलपाती हातमा लिएर तुलसीपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका कार्यसमिति सदस्य जलपा देवी नेपालीको पानी देवतासँगको पुकार थियो । अन्तराष्ट्रीय पानी दिवसको अवसर पारेर जालपादेवीसंगै संस्थाका सबै पदाधिकारी र कर्मचारीले पानीको पुकारा गरे, मुहानमा सरसफाई गरे अनि सामान्य मर्मतसम्भार । तुलसीपुरलाई पिउने पानी पुर्याउँदै आएको वि.सं. २०२७ सालमा सञ्चालनमा आएको चार इञ्च पाइप भरी पानी दिने क्षमताको यो मुहान फालावाङी राजाले सुरुवात गरेका थिए । पिउनका लागी त्यो बेला यहि मुहान पर्याप्त थियो, तर रानीहरुलाई नुहाउनका लागि तुलसीपुरकै एक जरुवा प्रयोगमा आएको थियो । जसलाई रानीजरुवा नामले चिनिन्छ । विश्वभरी मार्च २२ लाई पानी दिवसका रुपमा मनाइरहँदा दाङमा भने पानी संकट चुलिंदै आएको छ । पानीकै विवादका कारण केहि वर्षयता जघन्य अपराधका घटनाहरु समेत वर्षेनी हुँदै आएका छन् । सिंचाइकुलो विवादमा भएको झडपमा केहिले ज्यान समेत गुमाउनु परेको छ । हरेक खानेपानी संस्थामा सुरु भएको छ, पानीमा लोडसेडिङ । मौसम विदहरुका अनुसार कुनैपनि स्थानमा वार्षिक १ सय ५० मिलिलिटरको हाराहारीमा वर्षात हुनु स्वाभाविक मानिन्छ, तर वार्षिक वर्षातको दर घटेर अहिले २५ प्रतिशतमा झरेको छ ।

‘अहिले वार्षिक वर्षातको दर मात्र घटेको छैन, वर्षातको पानी सम्बन्धित क्षेत्रमै संश्लेषण हुने प्रक्रियामा पनि भारी गिरावट आएको छ, यो एउटा राष्ट्रिय चिन्ताको विषय हो’— जलवायु तथा मौसम विभागका पूर्व निर्देशक तथा मौसम विद् राजेन्द्र श्रेष्ठ भन्छन् । बढ्दो शहरीकरण र चुनढुंगाको उत्खनन्का कारण वर्षातको पानीको रिजर्भेशन क्षमतामा भारी गिरावट आएको हो । जसका कारण वर्षातमा मुल फुट्ने क्रम समेत धेरै स्थानमा रोकिएको छ । सदिऔंदेखिका पुराना मुलहरु समेत अहिले मेटिइसकेका छन् । मौसमविदका अनुसार जम्मा वर्षातको १० प्रतिशत पानी सम्बन्धित जमिनमै शोशिने अवस्था हुनुपर्दछ, तर अहिले संश्लेषण नभई बगेर जाने क्रम बढ्दो अवस्थामा रहेको छ । वर्षात कम हुनुमा प्रमुख कारण प्राकृतिक जैविक विविधताको ह्रास हो, अर्थात् हरीयालीको विनास । संश्लेषणकै अवस्था कमजोर हुँदा जमिनमुनीको पानीको तहपनि हरेक वर्ष भासिंदै गएको छ । ‘पन्ध्र वर्ष पुग्ने अनुमान गरेर धसेको बोरिङले पाँच वर्ष पनि थामेन, यसबाट स्पष्ट हुन्छकि जमिनमुनीको पानीको तहपनि वर्षेनी कम्तिमा दुई/तीन फिटका दरले भासिंदै गएको छ’, पानी व्यवसायी राजिव गौतमले आफ्नो अनुभव विश्लेषण गरे ।

आधुनिक विज्ञानले हरेक वस्तु र पदार्थको विकल्प दिएको छ, तर पानीको विकल्प छैन । पानीको विकल्प पानी नै हो । वैज्ञानिकले उद्घोष गरिसकेका छन्, अब तेस्रो विश्वयुद्ध भयो भने त्यो पानीकै कारण हुनेछ । यो अवस्यम्भावी प्रायः छ, विश्वका हरेक मुलुकमा पानी संकट चुलिंदै आएको अवस्थामा दाङ उपत्यकामा भने यसको असर अत्यधिक परेको छ । दिन दुईगुना र रात चौगुनाका दरले पानी समस्या चुलिँदै आएको खानेपानी नेताहरुले बताउँदै आएका छन् । तर सरकार यो विषयमा कत्तिपनि गम्भीर बनेको छैन । पानी समस्याको समाधानलाई दाङ जिल्ला स्थानीय सरकारले पनि सम्बोधन गर्न सकेको छैन ।

‘अर्को विकल्पै नभएको पानीको श्रोत जोगाउन तर्फ स्थानिय सरकार कटिबद्ध भएको पाइंदैन, केहि वर्षभित्रै पानी समस्याले दाङ जिल्ला काकाकुल हुने अवस्था छ’— बेलझुण्डि खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष प्रदिप गौतम भन्छन् । सरकारले मुहान संरक्षणको साटो अनियन्त्रित रुपमा प्राकृतिक असर हुने खालका चुनढुंगा उत्खनन्को लाइसेन्स दिंदै आएको बताइन्छ । कुन संयन्त्रले
यसरी धमाधम लाइसेन्स दिइरहेको छ, दाङबासी आम उपभोक्तालाइ पत्तै छैन ।

जिल्लाले थाम्न नसक्नेगरी सिमेन्ट उद्योगहरु सञ्चालन आउने क्रम रोकिएको छैन । यो भावि खतराका विषयमा स्थानीय सरकार मौन रहेका छन् । पछिल्लो समयमा दाङ जिल्लाका उत्तरी पहाडी श्रृंखलाहरुबाट कम्तिमा २१ व्टा कम्पनीलाइ चुनढुंगा उत्खनन्को लाइसेन्स दिइएको बताइन्छ, यद्धपि सवै स्थानमा उत्खनन् भने भएको छैन । पानी वाजे देवी वहादुर डिसी भन्छन्, ‘दाङलाइ मरुभुमिकरणबाट जोखाउने हो भने अब दाङ जिल्लामा सिमेन्ट उद्योग सञ्चालनको अनुमति अनिवार्य रुपमा बन्द गरिनुपर्दछ । कतिपय व्यक्तिको व्यवसायीक स्वार्थका यस्ता लाइसेन्सको विरुद्धमा अब नागरिक आन्दोलनको आवश्यकता भएको तुलसीपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खेमराज वलीले बताए । ‘चुनढुंगा उत्खनन्का विरुद्ध अब मास आन्दोलनको आवश्यकता छ, लाइसेन्स दिने होइन, अब राज्यले मुहान जोगाउने र रिचार्ज बढाउने योजनालाई पनि प्रार्थमिकतामा राख्नुपर्दछ’, पानी नेता वलीको भनाइ हो यो । तर स्थानीय सरकारको करिब डेढ वर्षको विकास बजेट पानी जोगाउने सवालमा प्राथमिकतामा पर्न सकेको छैन । केहि स्थानीय तहले न्युन बजेट तालतलैया निर्माणमा खर्च गरेको भएपनि अधिकांश स्थानीय तहले वातावरणमैत्री विकासमा ध्यानै दिएका छैनन् । जसले मरुभूमि बन्ने खतरा नजिकिंदो छ । हेर्दाहेर्दै हिउँदमा पनि घुँडा सम्म पानी बग्ने खहरेखोलाहरुमा अहिले कमिला हिँड्ने भएका छन् ।

मुहानमै पुगेर पानी दिवस यसैबीच तुलसीपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले २२ मार्चका अवसरमा तुलसीपुर उपमहानगरपालिका—४ मुलकोट स्थित मुहानमै पुगेर मुहानको सरसफाई एवं अन्तराष्ट्रिय पानी दिवस मनाएको छ । आफ्नै अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष खेमराज वलीले पानीलाई राज्यले प्राथमिकतामा राख्न नसकेको बताए । हरेक वस्तुको विकल्पमा अर्को वस्तु भएको भन्दै अध्यक्ष वलीले विकल्पनै नभएको पानीलाई राज्यले पर्याप्त मात्रामा सहयोग नगरेको गुनासो गरे । पानीको श्रोतको अभावका कारण उपभोक्तालाइ आवश्यकता अनुसार पानी पुराउन चुनौति रहेको पनि उनले बताए । हाल तुलसीपुरमा ६ हजार ५ सय धारा वितरण भैसकेका छन् । एकसाता अघि नयाँ धारा जडानको आवेदन खोल्दा कम्तिमा १ हजार ५ सय आवेदन परिसकेका छन् । कम्तिमा ३ हजार आवेदन पुग्ने संस्थाले अनुमान गरेको छ ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष गिरीधारी पौडेल, कोषाध्यक्ष सीताराम शर्मा आचार्य, सदस्यहरु रन्जन कुमार गौतम, मेघराज न्यौपाने, जालपादेवी दमाइ, सारदा सार्कि, भारता लामिछाने, पत्रकार सुनिल कुमार पोख्रेल तथा संस्थाका कर्मचारी चिरन खड्का लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव मनोज लामिछानेले गरेका थिए । साथै पदाधिकारी र कर्मचारीहरुको टोलिले मुलकोटस्थित मुहानको सरसफाई समेत गरेको थियो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस