कर्णालीमा एमालेका तीन मन्त्रीले दिए राजीनामा

चैत्र २४, २०७७  | ३४३ पटक पढिएको

२४ चैत्र, सुर्खेत ।

कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी तीन जना मन्त्रीले मंगलबार सामूहिक राजिनामा दिएका छन् ।

राजिनामा दिनेहरुमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा रहेका छन् । उनीहरुले राजिनामा पत्र कार्णृली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई बुझाएका हुन् ।

राजीनामा दिएलगत्तै नेकपा एमालेको संसदीय दलको बैठकमा तीनै जना मन्त्री सहभागी भएका छन् । पत्रकार सम्मेलनमार्फत राजीनामा दिएको जानकारी गराउँदै मन्त्रीहरुले दलको बैठकमा नै आफ्ना अडानका विषयमा छलफल र बहस गर्ने जनाएका छन् ।

आइतबार बसेको संसदीय दलको बैठकले माओवादी केन्द्रबाट निर्वाचित मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा रहेका एमालेतर्फका मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको थियो । यसअघि गत चैत ४ गते एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस