के हो एपेन्डिसाइटिस ?

चैत्र २३, २०७७  | ४१३ पटक पढिएको

२३ चैत्र, काठमाडौं ।

ठूलो आन्द्रासँग गाँसिएर बसेको एक सानो अंगलाई ‘एपेन्डिक्स’ भनिन्छ। एपेन्डिक्समा ब्याक्टेरिया संक्रमण या कुनै अवरोध भयो भने सुन्निने र पीप भरिने हुन्छ ।

समयमै यसको उपचार गरिएन भने यो फुट्ने र यसभित्र रहेको फोहोर आन्द्रा पेटभित्रै पोखिने सम्भावना हुन्छ। त्यसैले एपेन्डिसाइटिस भएको बिरामीको २४ घण्टाभित्रै उपचार आवश्यक हुन्छ। एपेन्डिक्स फुट्नुअगावै यसको अपरेसन गरेर फालिएन भने बिरामीको मृत्युसमेत हुने चिकित्सकहरू बताउँछन् ।

एपेन्डिसाइटिस आकस्मिकरुपमा देखा पर्ने रोग हो। यो रोगले कुनै पनि बेला मानिसलाई च्याप्न सक्छ । यो बिरामीका लागि एक आपत्कालीन अवस्था हो । समयमै रोग ठम्याउन सकिएन र तुरुन्त उपचार शुरु गरिएन भने यसले मानिसको ज्यानै जान साक्छ ।

केही भाइरसको संक्रमणले गर्दा एपेन्डिक्सको कोष सुन्निन्छन् र यसरी सुन्निएको कोषमा ब्याक्टेरियाजस्तै अक्सयुरियस भरमिकुलारिस, ई कोलाई इन्टेरोकोकाई आदिले गएर थप संक्रमण गराउँछन् अनि एपेन्डिसाइटिस हुन्छ। एपेन्डिक्स ठूलो आन्द्रासँग सीधै जोडिएको हुनाले कहिलेकाँही ठूलो आन्द्रामा गाँठो पर्दा वा बटारिँदा आन्द्रामा रहेको दिसा फर्केर आई एपेन्डिक्समा पसेर एपेन्डिक्सको संक्रमण गराउन सक्दछ।

एपेन्डिक्समा जुका आएर पनि एपेन्डिसाइटिस गराउन सक्छन्, जुन प्रमुख कारणमध्ये एक हो । कब्जियतका बिरामीले दिसा खुकुलो बनाउने औषधिको अत्यधिक प्रयोग गरेमा पनि एपेन्डिसाइटिस हुन सक्छ।

यी माथि उल्लेख गरिएका कुनै पनि कारणले गर्दा एपेन्डिक्सको मुख बन्द भएमा त्यसभित्र रहेका, जमेका फोहोरको कारणले गर्दा त्यहाँको चापमा वृद्धि हुन जान्छ। चापमा भएको वृद्धिले गर्दा एपेन्डिक्सको रक्तसञ्चारमा कमी आउँछ। रगतको प्रवाह नै कम भएपछि एपेन्डिक्सका कोष झन् ठूलो हुँदै आफ्नो आकारमा वृद्धि गर्न थाल्छन्।

यसले गर्दा रगत प्रवाह गर्ने नलीमा क्षति पुग्न गई पूरै रक्तसञ्चार बन्द हुन्छ र एपेन्डिक्सका कोषमा घाउ लाग्दछ अनि बिस्तारै कुहिन शुरु गर्दछ । शल्यक्रिया गरेर एपेन्डिक्सलाई निकाल्नेबाहेक यसको अर्को विकल्प नै हुँदैन । एपेन्डिसाइटिसको समयमै उपचार गरिएन भने यसले हाम्रो पेटमा रहेको आमाशय सानो आन्द्रा र ठूलो आन्द्रालगायतलाई ढाकेर राख्ने तन्तुको एक तह जसलाई पेरिटोनियम भनिन्छ, त्यसलाई फुटाइदिन सक्छ ।

यदि त्यस्तो भएमा संक्र्रमण शरीरभरि फैलिएर अवस्था चिन्ताजनक पनि बनाउन सक्छ ।यदी पेरिटोनियम पनि फुटेमा आन्द्राभित्रको गुह्य तत्व बाहिर निस्कन्छ अनि जटिल प्रकारको संक्रमण हुन्छ । कहिलेकाहीँ आन्द्राको वरिपरि आएर आन्द्रा वरिपरि रहेको ओ मेन्टअम भन्ने बोसोले ढाकेर संक्रमण हुनबाट रोक्छ । यसलाई अप्पेन्डिकुलर लम्प भनिन्छ ।

यसले पीपलाई अन्यत्र सर्नबाट रोक्छ । यस्तो भएमा तुरुन्त शल्यक्रिया गर्न पर्दैन । तर चिकित्सकको प्रत्यक्ष निगरानीमा रहनुपर्छ । अनि संक्रमण निर्मूल भएपछि शल्यक्रिया गर्नुपर्छ ।

एपेन्डिसाइटिसमा पेट दुख्नु सबैभन्दा प्रमुख लक्षण हो । यदि पेटको दाहिने भागमा दुख्छ भने, त्यो एपेन्डिसाइटिसको सम्भावना हुन सक्छ । यस्तो दुखाइ एपेन्डिक्सको अतिरिक्त दबाबको कारण हुन सक्छ । शुरुमा यस्तो दुखाइ नाइटोको छेउमा हुन सक्छ । दबाब बढ्दै गएपछि यो दुखाइ नाइटोबाट हटेर पेटको दाहिनेतर्फ पुग्छ, जहाँ एपेन्डिक्स हुन्छ ।

भोक नलाग्नु पनि एपेन्डिसाइटिसको लक्षण हो । शुरुवाती अवस्थामा भोक नलाग्नु वा खानामा अरुचि हुनु, वाकवाकी लाग्नु एपेन्डिसाइटिसको लक्षण हुनसक्छ । यसका साथै कब्जियतको सिकार पनि हुन सकिन्छ । यसैले पेट दुखाइसँगै भोक पनि लागेन, वाकवाकी लाग्छ भने चिकित्सककहाँ पुग्नुपर्छ ।एपेन्डिसाइटिसको रोगमा हल्का ज्वरो आउँछ ।

सामान्यतः यो ज्वरो लगभग १ सय फरेनहाइट हुन्छ । यदि ज्वरोका साथै कम्पन पनि आयो भने ढिला नगरी चिकित्सकलाई भेट्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस