कोभिड खोपका लागि विश्व बैंकले ८ अर्ब ७ करोड सहयोग गर्ने

चैत्र २०, २०७७  | १६३ पटक पढिएको

२० चैत्र, काठमाडौं ।

विश्व बैंकले कोभिड–१९ विरुद्धको खोपका लागि ८ अर्ब ७ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । विश्व बैंकले ७ करोड ५ लाख अमेरिकी डलर बराबरको सहुलीयतपूर्ण ऋण सहयोग सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।

जनसंख्याको उच्च प्राथमिकता प्राप्त समूहमा कोभिड–१९ विरूद्ध सुरक्षित र प्रभावकारी खोपहरूको पहुँच विस्तार गर्न विश्व बैंक र नेपाल सरकारबीच सम्झौता भएको हो ।

सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले हस्ताक्षर गरेका छन् ।

गत वर्ष चैतमा विश्व बैंकद्वारा स्वीकृत गरिएको २.९ करोड अमेरिकी डलर (३.३ अर्ब नेपाली रूपैयाँ) बराबरको कोभिड–१९ आपतकालीन प्रतिकार्य र स्वास्थ्य प्रणाली तयारी आयोजनामै यस अतिरिक्त वित्त सहयोग प्राप्त भएको हो । स्वास्थ्य र जनसंख्या मन्त्रालयको नेतृत्त्वमा यस आयोजनाको कार्यान्वयन स्वास्थ्य सेवा विभाग र अन्य सम्बद्ध संस्थागत निकायले गर्नेछन् ।

यस अतिरिक्त वित्त सहयोगको ९० प्रतिशत हिस्साले कोभिड–१९ विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरूको खरिद, आपूर्ति र वितरणलाई सघाउनेछ ।

बाँकी रकमले कोभिड–१९ संक्रमणको परीक्षण, पहिचान र उपचारका लागि विद्यमान जनस्वास्थ्यका उपायहरूलाई टेवा दिने विश्व बैंकले जनाएको छ । कोभिड–१९ विरूद्धका खोपहरूको माग र स्विकार्यताको सुधार गर्न सामुदायिक संलग्नता र जोखिम संचारलाई प्रवद्र्धन गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस