बालबिबाह न्यूनीकरणका लागि अभिमुखीकरण

चैत्र १५, २०७७  | १२४ पटक पढिएको

दिप्तीशिखा चौधरी, १५ चैत्र, दंगीशरण ।

स्थानीय सरकारले अभियान चलाए पनि बालविवाह न्यूनीकरणका लागि बालबालिका नै सचेत हुनुपर्ने एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । बालबालिकाहरु सुचिकृत नहुँदासम्म बालविवाह न्यूनीकरण नहुने उनीहरुले बताएका हुन् ।

दंगीशरण गाउँपालिकामा आयोजित बालविवाह न्यूनीकरणका लागि अभिमुखीकरण कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । ‘बालविवाह न्यूनीकरणका लागि स्थानीय तहले अभियान स्वरुप हरेक बर्ष कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर अभियानमा हिड्दा हिड्दै कतिपय बालबालिकाहरु विवाह गरी जाने गरेको खबर सुन्नमा आउँछ’ दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले भने । चेतना अभिवृद्धिका लागि गाउँपालिकाले बजेटको व्यवस्थापन गर्दै कार्यक्रम सञ्चालन गरेको कुनै काम लागेको छैन अब मा.वि. स्तरमा पढ्ने बालबालिकाहरु सचेत हुनुपर्ने अध्यक्ष चौधरीले बताए ।

गाउँपालिका उपाध्यक्ष पिमाकुमारी खड्काले न्यायिक समितिमा सम्बन्ध बिच्छेद गर्न आउँने आमाहरुको उमेर नै सानो हुन्छ सानै उमेरमा विवाह गरेका कारण आमा सँगसँगै छोराछोरीको भविष्य अन्धकारमय बनेको बताइन् । ‘बालविवाहका कारण शारीरिक, मानसिक, आर्थिक, सामाजिक लगायतका क्षेत्रमा असर परिरहेको छ ।’ उपाध्यक्ष खड्काले बताईन ।

प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले गाउँपालिकामा उमेर नपुगेका आमाहरु बच्चाको जन्मदर्ता गराउँन आउँने गरेको बताए । ‘नीति नियमअनुसार विवाहदर्ता नभईकन जन्मदर्ता कसरी गर्नु उहाँहरुले यो कुरा अझैँ बुझ्नु हुँदैन’ अधिकृत पौडेलले भने । स्कुल पढ्न पठाएको छोराछोरीहरु आफैँ छोराछोरी बोकेर आउँनु अभिभावकका लागि दु.खद कुरा रहेको बताए ।

कार्यक्रममा वडा सदस्य नन्दराम खत्री, लक्ष्मी न्योपाने, खीमबहादुर थापा, विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष मोहन चौधरी, विद्यार्थी क्रीस खड्का लगायतले बोलेका थिए । बालविवाह न्यूनीकरणका लागि गाउँपालिकाले गतवर्ष विद्यालयमा गएर विद्यार्थीहरुसँग अन्र्तक्रिया गरेको थियो भने यस आर्थिक वर्षमा जनप्रतिनिधि, अभिभावक, विद्यालय ब्यवस्थापन समिति र बालक्लवहरुसँग अन्र्तक्रिया गरेको छ ।

कार्यक्रममा कार्यक्रम अधिकृत किरण पोख्रेलले बालअधिकार, बालबिबाह सम्बन्धी कानुनी प्रावधान, निती नियमका विषयमा जानकारी गराएका थिए भने योजना शाखा प्रमुख लेखनाथ आचार्यले बालविवाह हुनुको कारण, असर, चुनौती लगायतका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रमको सहजीरण महिला बालबालिका तथा समाज कल्याण इकाई प्रमुख चन्द्रा वलीले गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस