थारु समुदायको नयाँ वर्ष माघमा

उदीराम चौधरी  |  पुष २९, २०७७  |  १७६ पटक पढिएको

२९ गते , बिजौरी।
थारू समुदायको सबैभन्दा ठूलो पर्व ‘माघ’ नजिकिएसँगै थारु समुदायका व्यक्तिहरु माघको तयारीमा जुटेका छन् । थारु सम्वत् २६४४ को सुरु हुने भएकाले पनि यो माघ पर्व सबैभन्दा ठूलो पर्वका रुपमा मनाउने गर्दछन् । माघ १ गतेदेखि गर्मी मौसन सुरु हुने भएकाले पनि माघलाई नयाँ वर्षको रुपमा मान्दै आएको पाइन्छ ।

थारु समुदायमा माघ भन्ने वित्तिकै वर्षभरीको लोखाजोखा गर्ने, आफ्नो क्षमताअनुसारको खेतीपाती कति गर्ने, भाइभाइ अलग हुने, बसाइसरी जाने जस्ता विषय उठाएर गाउँको महतवा समक्ष सल्लाह गर्ने गरेको थारु अगुवा छोटीलाल थारुले बताउनु भयो ।

उहाँका अनुसार ठूलो परिवारमा माघ देवानी मनाइसकेपछि घरमुलीले आफ्ना भाइहरुलाई सबै परिवार सँगै बस्न विचार छ, छैन वा कतै बसाइ सरेर जाने विचार छ की भनी राय माग्ने र सबैको राय अनुसार घरमुलीले निर्णय गर्ने गरेको बताउनु भयो ।

दाङमा पनि यस पर्वमा खाने विभिन्न परिकारहरु जुटाउन व्यस्त देखिन्छन् थारु समुदायहरु । माघको अघिल्लो दिन अर्थात् पुस २९ गतेका दिन बंगुर काट्ने माछा मार्ने, महिलाहरु रातभरी पिठो कुट्ने र पुरुषहरु महतावाको घरमा गई देवानी मनाउनुका साथै नाचगान गरी रात बिताइसकेपछि विहान मिर्मिरेमा नदी वा खोलामा नुहाउन जाने गरेको अगुवा थारुले भन्नुभयो ।

अगुवा थारुले थारु समुदायको संस्कृति, परम्परा, भेषभूषा जगेर्ना गर्नमा पुरुष भन्दा महिलाहरुको मुख्य भूमिका रहेको बताउनु भयो । योभन्दा पहिलो माघ मिलन भन्दै विभिन्न साँस्कृतिक कार्यक्रमहरु हुँदै आएकोले थारु संस्कृतिलाई संरक्षण र सम्बद्र्धन गर्न सहयोग पु¥याएको बताउनु भयो । माघमा थारु समुदायको विशेषगरी ढिक्रि, बङ्गुरको मासु, माछा, घोंगी, गङ्गटो, अचारलगायतका अन्य विभिन्न किसिमका धेरै खानाका परिकारहरु बनाइ खाने चलन रहिआएको छ ।

यो पर्वमा नयाँ वर्ष शुभारम्भ हुने भएकोले रोजगारीका लागि देशबाहिर तथा जिल्ला बाहिर गएका पुरुषहरु गाउँ गाउँमा फर्किरहेका छन ।

‘गाउँमा सबै साथीभाइ, इष्टमित्रसँग भेटघाट गर्ने, नाचगान गर्नुका साथै सुखदुखका अनुभवहरु आदानप्रदान हुने हुँदा केही दिनको छुट्टी लिएर माघ मनाउन आफ्नो परिवार काठमाडौंबाट दाङ आएको शान्तिनगर गाउँपालिका वडा नं. ६ का अञ्जान चौधरीले बताए ।

थारू समुदायको मुख्य पर्व भएकाले विशेषगरी बिहानै उठेर नजिकैको नदी, खोलको दोभानमा गई स्नान गरी आफूभन्दा ठूलाबाट आशिर्वाद लिने गरिन्छ, आशिर्वाद लिइसकेपछि घरमा छुट्याएर राखिएको चामल, नुन, मासलगायतका खाद्यान्न छुने र छुट्याइएका ती वस्तुहरू घरका चेलीबेटीलाई दिने परम्परा रहिआएको छ ।

प्रतिक्रिया दिनुहोस