थारु समुदायको ‘माघ’

उदीराम चौधरी  |  पुष २७, २०७७  |  ४५४ पटक पढिएको

२७ पुस, दाङ

थारू समुदायको सबैभन्दा ठूलो पर्व ‘माघ’ नजिकिएसँगै थारु समुदायका व्यक्तिहरु माघको तयारीमा जुटेका छन् ।

थारु सम्वत् २०४४ को सुरु हुने भएकाले पनि यो माघ पर्व सबैभँदा ठूलो पर्वका रुपमा मनाउने गर्दछन् । दाङमा पनि यस पर्वमा खाने विभिन्न परिकारहरु जुटाउन व्यस्त देखिन्छन् थारु समुदायहरु ।

माघमा थारु समुदायको विशेषगरी ढिक्रि, बङ्गुरको मासु, माछा, घोंगी, गङ्गटो, अचारलगायतका अन्य विभिन्न किसिमका धेरै खानाका परिकारहरु बनाइ खाने चलन रहिआएको छ ।

थारु समुदायका पुरुषहरू माघका लागि मासुको जोहो गर्न व्यस्त छन् भने महिलाहरूलाई घर लिपपोत गर्न, दुना टपरी बनाउन भ्याइनभ्याइ छ।

यो पर्वमा नयाँ वर्ष शुभारम्भ हुने भएकोले आफ्ना परिवारका लागि नयाँ–नयाँ कपडा किन्न गाउँबाट शहर बजार जान थालेका छन्।

रोजगारीका लागि देशबाहिर तथा जिल्ला बाहिर गएका पुरुषहरु गाउँ गाउँमा फर्किरहेका छन । ‘गाउँमा सबै साथीभाइ, इष्टमित्रसँग भेटघाट गर्ने, नाचगान गर्नुका साथै सुखदुखका अनुभवहरु आदानप्रदान हुने हुँदा मनमा छुट्टै किसिमको आन्नद आउँछ र गाउँका सबै दाइभाइ, दिदीबहिनीहरु संग भेटघाट हुने भएकाले केही दिनको छुट्टी लिएर माघ मनाउन आफ्नो परिवार काठमाडौंबाट दाङ आएको शान्तिनगर गाउँपालिका वडा नं. ६ का अञ्जान चौधरीले बताए ।

माघ पर्वमा पाहुना धेरै जम्मा हुने भएकाले उनीहरूको स्वागतका लागि थरीथरीका स्थानीय खानाका परिकारहरु पकाउन थारु समुदाय व्यस्त देखिन्छन्।

पुस अन्तिम दिनबाट शुरु भई माघ ३/४ गतेसम्म उल्लासपूर्वक मनाइने माघ पर्वमा पुसलाई बिदाइ गर्दै माघ १ अर्थात् नयाँ वर्षलाई स्वागत गर्नका लागि रातभर नाचगान गरेर जाग्राम बस्ने चलन रहेको थारू अगुवा बताउँछन्।

थारू समुदायको मुख्य पर्व भएकाले विशेषगरी बिहानै उठेर नजिकैको नदी, खोलको दोभानमा गई स्नान गरी आफूभन्दा ठूलाबाट आशिर्वाद लिने गरिन्छ, आशिर्वाद लिइसकेपछि घरमा छुट्याएर राखिएको चामल, नुन, मासलगायतका खाद्यान्न छुने र छुट्याइएका ती वस्तुहरू घरका चेलीबेटीलाई दिने परम्परा रहिआएको छ।

प्रतिक्रिया दिनुहोस