महिला राष्ट्रिय क्रिकेट: प्रदेश १ को लगातार दोस्रो जित

पुष १५, २०७७  | १४० पटक पढिएको

१५ पुस लमही ।

दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ ले लगातार दोस्रो जित हासिल गरेको छ । प्रदेश १ ले बुधबार पहिलो खेलमा सुदुर पश्चिमलाई ५ विकेटले पराजित गर्यो ।

खेलमा सुदुर पश्चिमले प्रस्तुत गरेको ५४ रनको सामान्य लक्ष्यलाई प्रदेश १ ले १५.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

टिमले संघर्षमय जित हासिल गर्ने क्रममा कप्तान रुविना क्षेत्रीले १२ रन र अप्सरी बेगमले ९ रन बनाइन् भने निग्मा तामाङले अविजित रहदै ७ रनको योगदान गरिन् ।

बलिङतर्फ सुदुर पश्चिमका लागि दिपा जोराले २ तथा कविता कुवँर र कविता जोशीले १.१ विकेट लिएका थिए ।

त्यसअघि देउखुरी क्रिकेट मैदानमा खराब मौसमका कारण १६ ओभरमा घटाईएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदुर पश्चिमले निर्धारित पूरै ओभर खेल्दै ८ विकेट गुमाएर ५३ रन बनाएको थियो ।

बलिङतर्फ प्रदेश १ का लागि संगिता राईले उत्कृष्ट बलिङ गरिन् । आफ्नो स्पेलको ४ ओभर पूरै बलिङ गरेकी उनले मात्र १० रन खर्चिएर ३ विकेट हात पारिन् ।

यस्तै शबनम राईले २ विकेट लिदा कप्तान रुविना क्षेत्री र निग्मा तामाङ पनि १(१ विकेट हात पारेका थिए ।

यसअघि समूह बी मा रहेको प्रदेश १ ले पहिलो खेलमा बागमतीलाई ४६ रनले पराजित गरेको थियो । भने सुदुर पश्चिमको यो पहिलो हार हो ।

सुदुर पश्चिमले पहिलो खेलमा गण्डकी प्रदेशलाई ५९ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार