आमा त्यागको खानी, बुवाको परिश्रम

अबिसेक क्षेत्री  |  मंसिर २६, २०७७  |  ७९२ पटक पढिएको

२६ मंसिर, तुलसीपुर/

आज मैले हाम्रो समाजमा रहेको समाजिक कुसंस्कृतिको बारेमा आफुले जानेका केही कुराहरू आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरूलाई बताउन गईरहेको छु ।

मैले लेखेको कुरा पढ्दै गर्दा कतिपय व्यक्तिहरूलाई आफ्ना आमाबुवाको याद पनि आउँन सक्छ । अनि कतिपयलाई भने आफ्नो आमाबुवालाई बृद्धाआश्रमबाट लिएर घरमै राखुँ भन्ने सोच आउँन सक्छ । कति जनालाई चाहिँ आफ्नो परिवारसँग बसेर धेरै कुरा गर्ने मन लाग्न सक्छ ।

आज मैले लेख्दै छु । ‘आमा त्यागको खानी अनि बुवाको परिश्रमको बारेमा’ । कतिलाई त थाहा नै छैन होला । मेरो आमा बुवाले मेरो लागि कति त्याग गरेका छन् भनेर ।

त्यस्ता व्यक्तिको लागि भए पनि मैले यो लेख लेख्दैछु । सबैभन्दा पहिले कुरा गरे आमाको

आमा :

आमा, यो शब्द सुन्दा जति सजिलो लाग्छ नि त्यति नै गाह्रो पनि छ । यो शब्दको अर्थ थाहा पाउन एउटा आमा आफ्नो सन्तानको लागि कति त्याग गर्नुपर्छ भन्ने कुरा त्यो सन्तानले कहिले पनि बुझ्न चाहँदैन । सबैभन्दा पहिलो त्याग ।

सन्तान पेटमा हुँदा उनीहरूलाई जे मन लाग्यो त्यहिँ खान पाउँदैनन् । किन थाहा छ ? किनभने त्यो पेटमा तिमी हुर्किरहेको हुन्छौ । तिमीलाई केही नहोस् भनी उनले आफ्नो खानाको बलिदान दिन तयार हुन्छिन् । के तिमी कहिले आमाको लागि खानाको बलिदान दिएका छौ र तिमी आफुले एकचोटी सोचेर हेर ।

तिमी त घरमा एकदिन मात्र नमिठो खाना पकाउँदा खाना नै छोडेर हिड्ने गर्दछौ । त्यो आमा जसले तिमी पेटमा भएदेखि तिमी जन्मिएको १ वर्षसम्म नमिठो नै खाएकी थिईन् । तिम्रो आमालाई तिमी ७–९ महिनाको पेटमा हुँदा उठ्न बस्न गाह्रो हुन्छ । न खान मन लाग्छ । न राम्रोसँग बस्न नै मिल्छ । त्यस्तो अवस्थामा पनि उनी तिम्रो लागि भनेर आफ्नो स्वास्थ्यको प्रवाह नगरी तिमी नै भनेर खुशी हुने गर्दछिन् । अनि कुरा आउँछ तिम्रो जन्मको ।

त्यति खेर सायद मलाई लाग्छ एउटा नव शिशुको लागि एकको मृत्यु अवश्य हुन्छ । त्यस्तो अवस्थामा पनि उनी तिम्रो आशामा बसेकी हुन्छिन् । उसले एउटा सन्तालाई जन्म दिन उनी केही समयका लागि भए पनि मरेको हुन्छिन् । अनि तिम्रो जन्म हुन्छ ।

अनि तिमी कति भाग्यमानी । तिमी जन्मिएको केहिबेर नरुँदा तिम्रो आमा पनि रुने गर्दछिन् । सायद त्यो पल तिमीले देख्ने र महसुस गर्ने भएको भए आज कुनै पनि आमाबुवा बृद्धाश्रम र घरबाट निकालिने थिएनन् होला ।

म एउटा सञ्चारकर्मी भएर पनि होला मैले त्यो समयलाई देख्ने मौका पाएको थिए एउटा रिपोटिङ गर्ने क्रममा । संसारमा पहिले त्यस्तो समय आउँछ जब सन्तानले जन्म लिंदा, यदि त्यो सन्तान नरुँदा आमा रुन्छिन् ।

अनि त्यहीँ सन्तान रुँदा आमाको मुहारमा हाँसो आउँछ । अनि तिम्रो लागि नौ महिनासम्मको दुध खुवाउन, तिम्रो लागि राम्रो–राम्रो कपडा, तिमीप्रतिको सदाचार लाखौँ लाख सपना अनि करोडौँको माया यतिसम्म त्याग गरेको आमालाई जब तिमी युवा हुन्छौ । त्यही आमा तिमिलाई मन पर्दैन ।

तिमीले कसरी बिर्सन सक्छौ र तिमी पढाईएको लागि टाढा गएको बेला चामलको बोरा भित्र खानेकुरा अनि तिम्रो खर्चको लागि लुकाएर पैसा पठाएको । हुन त कहाँ सम्झन्छौ र तिमीले । किनभने तिमी ठूलो भईसक्यौ नि होईन र ? यति मात्र होईन आमाको त्याग छोराछोरीको लागि अनन्तःसम्म पनि हुन्छ । यो संसारमा यदि कसैले सोध्यो संसारमा सबैभन्दा सुन्दर चिज के भन्यो भने र त्यो हो आमा । आमा सधैं सुन्दर हुन्छन् । गलत त केवल सोच र मानसिकता मात्र हो ।

बुवा :

आमा एउटा छोराछोरीको लागि त्यागको खानी हो भने त्यसै त्यागको खानीको परिश्रम र मेहेनतको अर्काे रुप हो बुवा । हामी सबैलाई लाग्ने गर्दछ । आमाले जति हामीलाई बुवाले माया गर्नुहुँदैन । त्यो होईन । बुवाले पनि आमा जतिकै माया गर्नुहुन्छ तर देखाउन सक्नुहुँदैन ।

बुवाको मायामा पनि कुनै कमी हुँदैन । तपाईहरूलाई म एउटा बुवाको कथा सुनाउँछु । त्यो पनि आफ्नै । वि. सं. २०७१ सालको कुरा हो । मलाई त्यतिबेला रेडियोको भूत चढेको थियो । रेडियोमा काम गर्ने मौका त मिल्यो तर आफ्नो खाने र बस्नेको कुनै ठेगान हुँदैन थियो ।

त्यो पनि दाङ छोडेर नेपालगञ्जमा बस्न धेरै कठिन हुन्थ्यो तर मलाई भने जसरी पनि पत्रकारिता केही गरेरै छोड्ने त्यो जोस भने कायमै थियो ।

कोठा भाडा तिर्ने पैसा समेत हुँदैन थियो आफुसँग रेडियोको काम त हजुरलाई थाहा नै छ पैसा हुँदैन ।

कोठा भाडा तिर्नुपर्ने भएपछि मैले घरमा आएर ६ हजार चाहियो भने । मेरो बावुको त्यति कुनै जागिर थिएन । घरको आर्थिक अवस्था पनि सामान्य थियो ।

बुवा केही पनि नबोलेर, केही नसोचेर मलाई आवश्यक परेको रकम मेरो हातमा राखिदिनु भयो । मेरो बुवाले पर्स सँधै गोजिमा राख्ने गर्नुहुन्थ्यो । त्यसदिन त्यो पर्स टेवुलमा देखे अनि मलाई बुवाको पर्समा कति पैसा छ भनेर हेर्न मन लाग्यो ।

मैले खोलेर हेर्दा पर्स पुरै खाली थियो । मेरो मनलाई मैले सम्हाल्न सकिन । म एकछिन त्यहीँ बसेर रोए अनि मैले सोंचे । बरु कोठा भाडा रेडियोबाट उठाएर दिन्छु अनि मरो रकम मिनाहा हुन्छ । अनि मैले बुवाबाट लिएको पैसा बुवाको पर्समा नै राखेर गए ।

अब तपाई भन्नुहोस् तपाईले बुवाको लागि यतिसम्म गर्नुभएको छ यदि यतिसम्म पनि गर्न सकिंदैन भने पनि उहाँको घरमा बस्ने अधिकार न खोसिदिनुस् । आफ्नो बुवालाई बुझ्नुहोस् । उहाँसँग कुरा गर्नुहोस् । यति मात्र गर्नुभयो भने तपाईको बुवा सधै खुशी हुनुहुनेछ ।

त्यसैले भनिन्छ । भगवान खोज्न मन्दिर जानु पर्दैन । भगवान त तपाईको घरमै हुनुहुन्छ । तपाईको घर मन्दिर अनि तपाईको बुवाआमा भगवान हो । त्यसैले आफ्नो परिवारलाई सँधै माया गरौँ ।

समाज :

समाज भनेको मान्छेहरुको एउटा त्यस्तो समूह हो । जहाँ हरेक किसिमका मान्छेहरु मिलेर बसेका हुन्छन् । जसमा राम्रो र नराम्रो दुवै थरिका मानिसहरु हुन्छन् ।

त्यसैले समाजलाई प्रतिद्वन्दी भनेको हो । हाम्रो समाजले पनि हाम्रो जीवनमा धेरै ठुलो भूमिका खेलेको हुन्छ । हामीले गरेका हरेक कार्यमा औँला उठाउने समाजकै मानिसहरु हुन्छन् ।

त्यसकारण समाजले हामीलाई के भन्छ भन्नु भन्दा पनि पहिले आफुले गर्न लागेको काम सहि छ वा छैन भनेर आफैले मुल्याङ्कन गर्न जरुरी छ ।

हाम्रो आमाबुवालाई राम्रो नराम्रो कान फुक्ने पनि यहीँ समाजका मानिसहरु हुन्छन् । त्यसैले कुनै पनि कार्य सुरु गर्नुभन्दा पहिले आफ्नो आमाबुवा र परिवारसँग बसेर सर–सल्लाह गरेर मात्र अगाडी बढ्नु राम्रो हुन्छ ।

समाज भनेको तिमीले राम्रो काम गरे पनि कुरा काट्ने गर्दछ र नराम्रो काम गरे पनि कुरा काट्दछ । त्यसैले जहिले पनि आपतको समयमा चाहिने भनेको परिवार नै हो ।

त्यसैले भनेको हो । आमाबुवा भगवानको रुप हुनुहुन्छ । तिमी सानो गल्ती गर समाजले तिमीलाई माफ गर्दैन । तर तिमी हजारौँ गल्ती गर बुवाआमाले माफ गर्नुहुन्छ । त्यसैले आफ्नो आमबुवा समाजभन्दा पनि धेरै माथि हुनुहुन्छ । समाजका केही व्यक्तिहरुको कुरा सुनेर आफ्नो बुवाआमा र परिवारको मन कहिले नदुखाउनु ।

निष्कर्ष :

हाम्रो समाजमा बस्ने प्रत्येक परिवारहरुलाई म के भन्न चाहान्छु भने । तपाईहरुले आ–आफ्नो आमाबुवालाई माया गर्नुहोस् । उहाँहरुसँग बेसर कुरा गर्नुहोस् । उहाँहरुको कार्यमा साथ दिनुहोस् । कुनै कुरा बुझ्न गाह्रो हुन सक्छ । आमाबुवालाई सम्झाउनुहोस् । उहाँहरु तपाईकै आमाबुवा हुनुहुन्छ । तपाईकै परिवार हुनुहुन्छ । तपाईकै खुशीको लागि यति गरेको ।

त्यसैले आजको दिनबाट कसैको परिवारमा बुवाआमालाई नराम्रो ब्यवहार नहोस् । कहिले सोच्नु भएको छ पहिले एउटा घरमा २–४ भाई बहिनी बसेको घर आज आमाबुवा नअट्ने भयो किन अनि कसरी तपाई सानो हुँदा एउटै भरमा बुवाआमा, दाई, भाई, दिदी, बहिनी अटाउने घरमा अहिले एउटा बुवाआमाको लागि खाली ठाउँ किन भएन होला आफुलाई सोध्नुहोस् ।

यही त्यहीँ आमाबुवाले घरमा ठाउँछैन भनेर तपाईलाई सानैमा घरबाट सडकमा छोडेको भए आज तपाईको अस्तित्व हुने थिएन होला ।

त्यसैले जसले हामीलाई हाम्रो पहिचान र अस्तित्व दियो त्यसैलाई नमेटाई दिनुहोस् । मेरो अनुरोध छ ।

कोहि कसैले आफ्ना आमाबुवालाई नराम्रो व्यवहार नगरौँ, उहाँहरुलाई उच्च सम्मान र आदर दिएर परिवार सुखी र खुुसी बनाउँ ।

प्रतिक्रिया दिनुहोस